इरानमाथि २२ राष्ट्रको संयुक्त चेतावनी: विदेशी भूमिमा हुने आक्रमण र धम्की तत्काल रोक्न माग

सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया तथा युरोपेली मुलुकहरू सहित २२ देशले इरानलाई आफ्ना भूभागमा भइरहेका आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल बन्द गर्न संयुक्त चेतावनी दिएका छन्। इरानी सुरक्षा तथा गुप्तचर निकायहरू विदेशी भूमिमा रहेका असन्तुष्ट नागरिक, पत्रकार, यहुदी र इजरायली समुदायलाई लक्षित गर्ने कार्यमा संलग्न रहेको आरोप ती राष्ट्रहरूले लगाएका छन्।

बिहीबार जारी गरिएको एक संयुक्त विज्ञप्तिमा सहभागी देशहरूले आफ्नो सार्वभौमिकता र अन्तर्राष्ट्रिय मान्यतामाथि इरानले प्रत्यक्ष चुनौती दिएको उल्लेख गरेका छन्। विदेशी भूमिमा मानिसहरूको हत्या प्रयास, अपहरण, उत्पीडन र धम्की दिने कार्य स्वीकार्य नहुने उनीहरूको ठहर छ।

विज्ञप्ति अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) अन्तर्गतका गुप्तचर सेवा र त्यसको विदेशी शाखा ‘कुद्स फोर्स’ ले विभिन्न देशमा घातक षड्यन्त्र रचिरहेका छन्। उनीहरूले विशेष गरी इरानी असन्तुष्ट पक्ष, पत्रकारका साथै यहूदी र इजरायली समुदायसँग आबद्ध व्यक्ति एवं संस्थाहरूलाई निसाना बनाएको दाबी गरिएको छ।

हस्ताक्षरकर्ता राष्ट्रहरूले आफ्ना नागरिक र भूमि रक्षाका लागि आफूहरू एकजुट रहेको स्पष्ट पार्दै अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थालाई कमजोर पार्ने गतिविधि तत्काल रोकिनुपर्ने बताएका छन्।

युरोपका विभिन्न स्थानमा यहुदी समुदाय, इरानी तथा अमेरिकी पत्रकारहरूलाई लक्षित गरी चलाइएको आक्रमणको अभियानमा इरान सम्बद्ध समूह ‘हरकत अशाब अल–यामिन अल–इस्लामिया’ सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ। यस अभियानमा इरानको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको ती देशहरूको आरोप छ।

हालै लन्डनको ठूलो यहुदी बस्ती रहेको गोल्डर्स ग्रीन क्षेत्रका सभास्थल र विभिन्न केन्द्रहरूमा श्रृङ्खलाबद्ध आगजनीका घटनाहरू भएका थिए। उक्त कम परिचित समूहले ती आगजनीका घटनाहरूको जिम्मेवारी लिएको बताइएको छ।

यस विषयमा इरानले हालसम्म आधिकारिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन। यद्यपि, पश्चिमा मुलुकहरू र इरानबीच सुरक्षा, क्षेत्रीय प्रभाव तथा गुप्तचर गतिविधिहरूलाई लिएर लामो समयदेखि विवाद जारी छ। २२ देशको यो पछिल्लो कदमले इरानमाथि अन्तर्राष्ट्रिय कूटनीतिक दबाब थप बढाएको देखिन्छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x