ब्रसेल्स । युरोपेली सङ्घ (इयू) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को नौसैनिक शाखा, क्षेत्रीय कमान्डका प्रवक्ता र एक व्यवसायीमाथि प्रतिबन्ध लगाएको छ। इरानसँगको तनाबका कारण प्रमुख जलमार्ग अवरुद्ध भई विश्व बजार अस्तव्यस्त बनेपछि इयूले यो कदम चालेको हो।
२७ राष्ट्र आबद्ध युरोपेली सङ्घका अनुसार रिभोलुसनरी गार्ड्सको नौसेना शाखा र सो सङ्गठनको हर्मोजगान प्रान्तीय कमान्डका प्रवक्ता मोहम्मद अकबरजादेहलाई कालोसूचीमा राखिएको छ। यसैगरी, इरानको तेल निर्यातकर्ता युनियनका प्रतिनिधि हमिद होसेनीमाथि पनि सम्पत्ति रोक्का र भिसा प्रतिबन्ध लगाइएको इयूले जनाएको छ।
मध्यपूर्वमा जारी द्वन्द्व मत्थर भएपछि रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरूमध्ये (स्ट्रेट अफ हर्मुज) मा नौसैनिक मिसन परिचालन गर्ने योजनामा फ्रान्स र बेलायतको नेतृत्वमा युरोपेली मुलुकहरूले गृहकार्य गरिरहेका छन्।
युरोपेली सङ्घकी उच्च कूटनीतिज्ञ काजा कलासले हाल ‘रेड सी’ (लाल सागर) मा तैनाथ इयूको नौसैनिक टोलीले नै उक्त नयाँ सैन्य मिसनमा समेत भाग लिन सक्ने सङ्केत गरेकी छन्।








