हामी विगतका गल्ती र अलमलबाट टाढा छौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । भारतीय विदेशमन्त्री डा.एस. जयशङ्करको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले आफूले नेपालको एउटा पूर्णतः नयाँ राजनीतिक यथार्थको प्रतिनिधित्व गरिरहेको बताएका छन ।

भ्रमणको अन्तिम दिन नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग विशेष कुराकानी गर्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन । उनले नयाँ पुस्ताको नेतृत्वको उदय नागरिकहरूले दिएको असाधारण र ऐतिहासिक जनादेशबाट भएको उल्लेख गर्दै उनले यसको मूल मर्म सम्झौता विनाको सुशासन, मेरिटोक्रेसी र प्रत्यक्ष जवाफदेहिता भएको समेत बताएका छन ।

आफ्नो नेतृत्वमा रहेको नयाँ पुस्ताको सबैभन्दा ठूलो सबल पक्ष नै विगतका गल्ती र अलमलबाट टाढा रहनु भएको समेत उनले बताए । परराष्ट्रमन्त्री खनालले भने, ‘हामी नेतृत्वको नयाँ पुस्ता भएका कारण हामीसँग एउटा विशिष्ट पुँजी छ। त्यो हो– हामी विगतका कुनै पनि बोझबाट पूर्ण रूपमा मुक्त छौँ ।’ उनले यस विशिष्ट पुँजीको प्रयोग गर्दै भविष्यमुखी सम्बन्ध निर्माणमा जोड दिने सङ्केत गरे ।

सो अवसरमा उनले सञ्चारमाध्यमको भूमिकाको प्रशंसा गर्दै नेपालको नयाँ राजनीतिक यथार्थ र दुई देशबिचको सम्बन्धका विविध आयामबारे आफ्नो धारणा राखे। सञ्चारकर्मीहरूलाई स्वागत गर्दै परराष्ट्रमन्त्री खनालले नेपाल जस्तो जीवन्त र बहुलवादी लोकतन्त्रमा सञ्चारमाध्यमले अपरिहार्य भूमिका निर्वाह गर्ने पनि बताएका छन ।

पत्रकारहरू द्विपक्षीय यात्राका दर्शक मात्र नभएर लोकतान्त्रिक मूल्यमान्यताका महत्त्वपूर्ण स्तम्भ भएको उनको भनाइ थियो। खनालले सञ्चारमाध्यम दुवै देशका जनताले एक–अर्कालाई बुझ्ने बलियो माध्यम र साझा भविष्यको भाष्य निर्माणका प्रमुख संरक्षक भएको समेत बताएका छन ।

काठमाण्डू देखि नयाँ दिल्लीसम्मको भौगोलिक र सांस्कृतिक सामीप्य स्मरण गर्दै उनले नेपाल र भारत नक्सामा कोरिएका राजनीतिक रेखाहरूले जोडिएका छिमेकी मात्र नभएको प्रस्ट पारे। दुवै देश मनमोहक हिमालयदेखि गङ्गा बेसिनका विशाल उर्वर फाँटहरू, नदी, हिमाल र प्राचीन ज्ञानले बाँधिएका सहयात्री भएको समेत उनले बताए ।

नयाँ दिल्ली आइपुगेदेखि आफू र आफ्नो प्रतिनिधिमण्डललाई देखाइएको अपार सद्भाव, न्यानो आतिथ्य र सहकार्यको भावनाप्रति उनले भारत सरकारलाई हार्दिक आभार व्यक्त गरे।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x