नाइजेरियामा सैन्य विमान दुर्घटना: चालक दलका सदस्यसहित ३२ जनाकै मृत्यु

अबुजा । नाइजेरियाको दक्षिण-पश्चिम ओन्डो राज्यमा एउटा सैन्य विमान दुर्घटना हुँदा विमानमा सवार सबै ३२ जनाको मृत्यु भएको छ। नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार उक्त दुखद घटनाको पुष्टि गर्दै विमानमा सवार कोही पनि जीवित नरहेको जानकारी दिएका छन्।

नाइजेरियाका नागरिक उड्डयन तथा अन्तरिक्ष विकास मन्त्री फेस्टस केयामोका अनुसार २५ जना यात्रु र सात जना चालक दलका सदस्य गरी कुल ३२ जना बोकेको उक्त विमान ओन्डो राज्यको नदी तटीय क्षेत्र इग्बोकोडास्थित नौसेना बेस  नजिकै दुर्घटनाग्रस्त भएको हो।

यसअघि हेलिकप्टर दुर्घटना भएको अनुमान गरिए पनि नाइजेरियाली वायुसेनाले उक्त विमान द्वि-इन्जिन भएको ‘एटीआर-४२’ टर्बोप्रोप सैन्य विमान रहेको स्पष्ट पारेको छ। उक्त विमान नाइजेरियाको दक्षिणी सहर बेनिनबाट लागोसतर्फ नियमित उडानका क्रममा दुर्घटनामा परेको वायुसेनाले जनाएको छ।

घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति टिनुबुले यो समय सशस्त्र बल र सिङ्गो राष्ट्रका लागि अत्यन्तै पीडादायी भएको बताएका छन्। वायुसेनाका जवानहरूले दिएको बलिदानलाई राष्ट्रले कहिल्यै नबिर्सिने उल्लेख गर्दै उनले दुर्घटनालगत्तै खोजी तथा उद्धार कार्य सुरु गरेकोमा वायुसेनाको सराहना गरेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest