वासिङ्टनमा अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बङ्गाबिच भेटवार्ता: एक अर्ब डलर सहयोग र पुनःनिर्माणमा जोड

काठमाडौँ/वासिङ्टन डीसी । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाबिच संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। विश्व बैंकका अध्यक्ष बङ्गाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्लेले सोमबार उक्त भेटवार्ता गरेका हुन्।

तीन दशकयता विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबिच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। भेटमा भोटेकोशी-त्रिशूली बाढी र पहिरोले पुर्‍याएको भौतिक तथा आर्थिक पूर्वाधारको क्षति, त्यसको पुनःनिर्माण, समष्टिगत आर्थिक सुधार तथा बिमा एवं सामाजिक सुरक्षाका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा गहन छलफल भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ।

भेटका क्रममा विश्व बैंकका अध्यक्ष बङ्गाले नेपालमा प्राकृतिक विपद्का कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माण अभियानमा विश्व बैंकका तर्फबाट ठुलो सहयोग रहने प्रतिबद्धता जनाएका छन्। नेपाल सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमको प्रशंसा गर्दै बङ्गाले पूर्वाधार विकासमा लगानी विस्तार गर्न र देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

साथै अध्यक्ष बङ्गाले एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतका विकास साझेदारहरूलाई साथमा लिएर नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले पहल गर्ने जानकारी दिएका छन्। विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्लेनका अनुसार यो ऐतिहासिक भेटवार्तामा विश्व बैंकका उपाध्यक्षहरू जोहानेस जुट्ट र जुनैद अहमदसहित उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest