रुस-युक्रेन द्वन्द्व तीव्र: किभमा रुसी ड्रोन प्रहार, जेलेन्स्कीद्वारा कडा अन्तर्राष्ट्रिय प्रतिबन्धको आह्वान

युक्रेन । युक्रेन र रुसबिच सैन्य कारबाही तीव्र बन्दै जाँदा राजधानी किभसहित विभिन्न क्षेत्रमा रुसी ड्रोन आक्रमणबाट जनधनको क्षति भएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार रुसले पछिल्लो २४ घण्टामा १५५ वटा जेट-पावर्डसहित कुल २७७ वटा विभिन्न किसिमका आक्रमणकारी ड्रोनहरू प्रयोग गरेको छ।

सञ्जाल X (ट्विटर) मा सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसी ड्रोनहरूले किभका दुई वटा बालविकास केन्द्र (किन्डरगार्टेन), दुई वटा विद्यालय, आवासीय भवन, सवारी मर्मत केन्द्र, गोदामहरू र सञ्चार सुविधाहरूमा क्षति पुर्‍याएको बताएका छन्। आक्रमणमा परी केही व्यक्तिको मृत्यु भएको छ भने दर्जन्‌भन्दा बढी घाइते भएका छन्।

यस आक्रमणमा परी साउदी अरेबियाका राजदूतको आवासगृहको रूपमा प्रयोग हुँदै आएको भवनमा समेत क्षति पुगेको छ। यसका साथै डिप्रो क्षेत्रको एक खेलकुद विद्यालय र सुमी क्षेत्रको अनाथालय (बालगृह) भवनमा पनि रुसी प्रहारबाट क्षति पुगेको छ।

“संसारको जुनसुकै कुनामा यस्ता लक्ष्यहरू छान्नुलाई केवल ‘आतंकवाद’ भनिन्छ । रुससँग यो गर्नुको कुनै सैन्य उद्देश्य छैन—यो विशुद्ध रूपमा मानिसहरूलाई तोड्ने र हाम्रो समाजलाई सकेसम्म धेरै हानि पुर्‍याउने प्रयास हो,” जेलेन्स्कीले उल्लेख गरेका छन्।

रुसले अमेरिकी वार्ताकारहरूसँग तनाव कम  गर्ने दाबी गरिरहेको सन्दर्भमा बोल्दै जेलेन्स्कीले भने कि यदि रुस साँच्चै वार्ताका लागि गम्भीर हुन्थ्यो भने यो स्तरको ‘साहेद’  आतङ्क हुने थिएन। रुसले विश्वलाई अल्मल्याउन र कडा कदमहरूबाट बच्नका लागि मात्र सकारात्मक कूटनीतिक सङ्केतहरू दिने गरेको उनले आरोप लगाए।

जेलेन्स्कीले अमेरिकी संसदबाट पारित लिन्डसे ग्राहम प्रतिबन्ध तथा महसुलसम्बन्धी कानुनलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन माग गरेका छन्। साथै G7 र G20 देशहरूलाई रुसी वित्तीय सञ्जाल, हतियार निर्माणका पार्टपुर्जा आपूर्ति शृङ्खला, र ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादक कम्पनीहरूमाथि अक्टोबर महिनाभित्रै नयाँ कडा प्रतिबन्धहरू लागू गर्न आग्रह गरेका छन्।

अर्कोतर्फ, रुसी समाचार संस्था टास  का अनुसार रुसी रक्षा मन्त्रालयले २४ घण्टाभित्र कुर्स्क, बेल्गोरोड, ओर्योल, ब्रियान्स्क, रोस्तोभ, क्रिमिया र कालो समुद्र माथि ४३ वटा युक्रेनी ड्रोनहरूलाई खसालेको दाबी गरेको छ।

रुसले युक्रेनी सेनालाई उच्च गतिको इन्टरनेट र डाटाबेस भण्डारण सुविधा दिने किभस्थित ‘ओमेगा टेलिकम’ डाटा सेन्टर, ओडेसास्थित ‘नोभाया पोचता’  लजिस्टिक सेन्टर र ओडेसा बन्दरगाह जाँदै गरेको सैन्य सामग्री बोकेको मालवाहक जहाजमा सफल ड्रोन प्रहार गरेको दाबी गरेको छ। साथै डोनेट्स्क (DPR) क्षेत्रमा युक्रेनी फौजले ११ पटक गोलाबारी गरेको रुसी दाबी छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest