वासिङ्टन/टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य पुनः खोल्ने इरानको सात दिने युद्धविराम प्रस्ताव सार्वजनिक रूपमा खारेज गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र सरकारी ऋणपत्रको प्रतिफल (बोन्ड यिल्ड) मा उच्च वृद्धि भएको छ। ट्रम्पको यस निर्णयले आपूर्ति सङ्कट लम्बिने र विश्वभर मुद्रास्फीति पुनः ह्वात्तै बढ्ने चिन्ता उत्पन्न गराएपछि एसियाली सेयर बजारमा मन्दी देखिएको छ। गत हप्ता संयुक्त राष्ट्रसङ्घको महासभामा इरानले होर्मुज जलडमरूमध्य खोल्नका लागि आफ्नो रोक्का गरिएको सम्पत्ति फुकुवा , तेल बिक्रीको प्रतिबन्ध अन्त्य र अमेरिकी नाकाबन्दी हटाउने सर्तसहितको प्रस्ताव राखेको थियो। तर ट्रम्पले “उनीहरू सम्झौता गर्न चाहन्छन् , तर यो म चाहेको जस्तो सम्झौता होइन” भन्दै उक्त अडानलाई अस्वीकार गरे पनि मध्यस्थकर्ताहरूमार्फत अप्रत्यक्ष वार्ताको ढोका भने खुल्लै रहेको सङ्केत दिएका छन्।
अन्तर्राष्ट्रिय बजारको पछिल्लो तथ्याङ्क अनुसार कच्चा तेल डब्ल्युटीआई को मूल्य १.० प्रतिशतले बढेर प्रतिब्यारेल ९३.३४ डलर पुगेको छ भने ब्रेन्ट क्रुड १.८ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल १०६.१९ डलर पुगेको छ। यसै गरी एसियाली सेयर बजारमा टोकियोको निक्केई २२५ सूचकाङ्क ०.३ प्रतिशतले घटेर ६६,१८८.९० मा ओर्लिएको छ भने साङ्घाई कम्पोजिट १.७ प्रतिशतले घटेर ३,८२०.८२ मा सीमित भएको छ। अर्कोतर्फ हङकङको ह्याङसेङ सूचकाङ्क भने ०.७ प्रतिशतको वृद्धिसहित २४,६७६.४५ बिन्दुमा पुगेको छ।