ट्रम्पद्वारा प्रस्ताव अस्वीकृत भएपछि अरागचीको ‘महाविनाशकारी युद्ध’ को चेतावनी

वासिङ्टन/तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खोल्नेसम्बन्धी तेहरानको सात दिने प्रस्ताव सार्वजनिक रूपमा अस्वीकार गरेपछि इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकाविरुद्ध ‘महाविनाशकारी युद्ध’ (डूम्सडे वार) का लागि आफ्नो देश पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन्। अमेरिकी टेलिभिजन च्यानल NBC को ‘मिट द पे्रस’ कार्यक्रममा बोल्दै विदेशमन्त्री अरागचीले ट्रम्पको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका हुन्।

इरानी विदेशमन्त्री अरागचीले वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार र राष्ट्रपति ट्रम्पको सार्वजनिक अभिव्यक्तिको प्रसङ्ग उल्लेख गर्दै भनेका छन्, “हामी सैन्य कारबाही पुनः सुरु भएमा त्यसको सामना गर्न पूर्ण रूपमा तयार छौँ। नयाँ प्रहार भएमा महाविनाशकारी युद्ध नै किन नहोस् , हामी दृढताका साथ खडा हुनेछौँ। हामीलाई अमेरिकी मध्यावधि निर्वाचनको कुनै सरोकार छैन, हामीलाई केवल आफ्नो राष्ट्रिय हितको चिन्ता छ।”

तथापि , अरागचीले युद्धको चेतावनी दिइरहँदा कूटनीतिको ढोका अझै ढोका खुला रहेको स्पष्ट पारेका छन्। “हामी एकै समयमा युद्ध र कूटनीति दुवैका लागि तयार छौँ। अब कुन बाटो रोज्ने भन्ने निर्णय राष्ट्रपति ट्रम्पको हातमा छ,” उनले भनेका छन्। ट्रम्पले प्रस्ताव अस्वीकार गरेको समाचार बाहिरिए पनि तेहरानलाई मध्यस्थकर्ताहरूमार्फत आधिकारिक रूपमा कुनै सन्देश नआएको उनले जानकारी दिएका छन्।

यसैबिच , संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले इरानको सात दिने प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको पुष्टि गरेका छन्। इरानले अवैध रूपमा फ्रिज गरिएका अरबौँ डलरका सम्पत्ति फुकुवा गर्न र नाकाबन्दी हटाउन माग गरेको भन्दै राजदूत वाल्ट्जले यो प्रस्ताव स्वीकार्य नभएको बताएका हुन्। इरानले अन्तर्राष्ट्रिय जलक्षेत्रमा व्यापारिक जहाजहरूमाथि आक्रमण गरेर विगतका समझदारी उल्लङ्घन गरेको र आणविक हतियार प्राप्तिको होड नछाडेको अमेरिकी आरोप छ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले इरानमाथिको नाकाबन्दी र सैन्य कारबाही मध्यावधि निर्वाचनपछि अझ तीव्र हुन सक्ने सङ्केत गरेपछि मध्यपूर्वमा नयाँ र ठुलो सैन्य भिडन्तको आशङ्का बढेर गएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest