मनाङमा बाढीको क्षति बढ्यो, हिमलुङमा बेपत्ता १० मध्ये दुई जनाको शव भेटियो

११ असोज, लमजुङ। अविरल वर्षापछि आएको बाढी र पहिरोले मनाङमा सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा क्षति पुर्‍याएको छ । बाढीका कारण सदरमुकाम चामेमा पाँच घरमा पूर्ण क्षति पुगेको छ भने चारवटा पुल बगेका छन् ।

नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमाल क्षेत्रमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १० जनामध्ये दुई जनाको शव फेला परेको छ । उद्धार टोलीले आइतबार दुई जनाको शव हेलिकप्टरमार्फत चामे ल्याएको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिएका छन् । बाँकीको खोजी तथा उद्धार मौसम अनुकूल भएपछि अघि बढाइने जनाइएको छ ।

चामे बजारमा बाढीले घट्टेखोला, तिर्चुङाल्डा र नयाँबजारतर्फका पुलसहित चार पुल बगाएको छ । नासों गाउँपालिकामा सडक तथा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ । नासों–१ को तालगाउँमा करिब १० घर डुबानमा परेको विवरण प्राप्त भएको छ ।

बाढीपछि मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकासँग सञ्चार सम्पर्क प्रभावित भएको छ । विद्युत् तथा मोबाइल सेवा अवरुद्ध हुँदा माथिल्लो मनाङको क्षतिको पूर्ण विवरण संकलनमा कठिनाइ भएको प्रशासनले जनाएको छ । बेँसीसहर–चामे सडकसमेत अवरुद्ध भएकाले आवागमन प्रभावित भएको छ ।

उद्धार तथा क्षतिको विवरण संकलनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहबीच समन्वय भइरहेको छ । मौसम प्रतिकूल हुँदा केही क्षेत्रमा हेलिकप्टरबाट उद्धार तथा निरीक्षणमा समेत कठिनाइ भएको प्रशासनले जनाएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments