११ असोज, म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नं २ भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पुल बगाएको छ । पुल बगेपछि अन्नपूर्ण गाउँपालिकाका वडा नं २, ३ र ४ तथा मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको गाउँपालिकाले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिका–५ गिवाङ र वडा नं ३ फगाममा पहिरोले दुई घर पुरिएका छन् । पुरिएका घरमा रहेका दुई जनाको खोजी भइरहेको छ । त्यस्तै, बेनी–जोमसोम सडकको खामभित्तामा कालीगण्डकीले सडक कटान गरेको छ भने अन्नपूर्ण–४ घरापस्थित निलगिरि आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ ।