म्याग्दी । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको भीषण बाढीले बेनी-जोमसोम-कोरला सडक खण्डअन्तर्गतको पक्की मोटरेबल पुल बगाएको छ। अन्नपूर्ण गाउँपालिका-६ को पोखरेबगर र भुरुङ-तातोपानीको नौलीबगर जोड्ने उक्त पुल बाढीले बगाएपछि मुस्ताङ जिल्लातर्फको यातायात सेवा पूर्ण रूपमा ठप्प भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले जानकारी दिएका छन्।
नदीको बहाव बढेपछि बेनी-जोमसोम सडक अन्तर्गतको खम्भिट्टा क्षेत्रमा तीव्र कटान सुरु भएको छ। यस्तै , अविरल वर्षापछि गएको पहिरोका कारण फगाममा एक घर र गिवाङ गाउँमा अर्को एक घर पुरिएको छ। पहिरोमा परी बेपत्ता भएका दुई जनाको खोजी कार्य निरन्तर जारी रहेको छ। प्राकृतिक विपद्का कारण अन्नपूर्ण गाउँपालिका-४ मा रहेको नीलगिरि आधारभूत विद्यालयको भवनमा समेत क्षति पुगेको छ।