तेहरान । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद (एसएनएससी) को सचिवालयले हालै देशमाथि लगाइएका उड्डयन प्रतिबन्धहरूको जवाफमा कुनै पनि किसिमको सैन्य प्रतिशोध नलिने स्पष्ट पारेको छ। अर्ध-सरकारी समाचार एजेन्सी तास्निमका अनुसार शनिबार एक विज्ञप्ति जारी गर्दै सुरक्षा परिषदले सैन्य कारबाहीको सम्भावनालाई खारेज गरेको हो।
सुरक्षा परिषदका सचिव मोहसिन रेजाईले हवाइ यातायातको विषयमा दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न भ्रम र भ्रामक व्याख्याहरू पछि उक्त स्पष्टीकरण आएको हो।इरानले सैन्य कदम चाल्ने दाबीलाई अस्वीकार गर्दै विज्ञप्तिमा भनिएको छ, “विमान सेवामा लगाइएका गैरकानुनी प्रतिबन्धहरू हटाउन सम्बन्धित देशहरूसँग गम्भीरताका साथ वार्ता भइरहेको छ।”
तथापि, प्रतिबन्ध पालना गर्ने पक्षहरूसँग जुध्न इरानसँग अनेकौँ गैर-सैन्य विकल्पहरू रहेको र आवश्यकता परेका खण्डमा केही विमानस्थलहरूविरुद्ध त्यस्ता कदम चाल्न सकिने सुरक्षा परिषदले चेतावनी दिएको छ। परिस्थिति त्यो स्थितिसम्म नपुगोस् भन्ने अपेक्षा इरानले राखेको छ।
यसअघि, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विश्वभर सञ्चालित सबै इरानी एयरलाइन्सका सेवा ठप्प पारिने घोषणा गरेका थिए। इरानी एयरलाइन्सलाई सेवा प्रदान गर्ने कम्पनीहरूमाथि दोस्रो तहको प्रतिबन्ध (सेकेन्डरी स्याङ्क्सन) लगाउने चेतावनी उनले दिएका थिए।
इरानी विमानहरूले अवतरण गर्दा इन्धन, ल्यान्डिङ सेवा वा टिकट बिक्री उपलब्ध गराउने निकायहरू अमेरिकी डलर प्रणालीबाट वञ्चित हुने चेतावनी बेसेन्टले दिएका हुन्।अमेरिकी प्रतिबन्ध लागू भएलगत्तै इरानी सरकारी टेलिभिजन (आईआरआईबी) सँग कुरा गर्दै सुरक्षा परिषदका सचिव रेजाईले छिमेकी देशहरूलाई अमेरिकाको यो “जोखिमपूर्ण कदम” मा सहभागी नहुन आग्रह गरेका थिए।