७ असोज, न्युयोर्क। परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा जारी राहत, पुनःस्थापना तथा पुनर्निर्माणका विषयमा छलफल भएको हो ।
न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार भेटमा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका प्रयासमा अमेरिकाको निरन्तर सहयोगका विषयमा पनि छलफल भएको थियो । दुवै पक्षले नेपाल–अमेरिका सम्बन्धका विभिन्न आयामबारे विचार आदानप्रदान गरेका थिए ।
न्युयोर्कमा रहेका नेपाली अधिकारीका अनुसार भेटमा परराष्ट्रसचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत अधिकारी सहभागी थिए ।
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय बैठकमा सहभागी हुन सेप्टेम्बर २० मा न्युयोर्क पुगेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले महासभाका क्रममा विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा द्विपक्षीय भेटवार्तामा सहभागिता जनाइरहेका छन् ।