प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान, २४ सेप्टेम्बरमा राष्ट्रसङ्घ महासभालाई सम्बोधन गर्ने

६ असोज, काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभाको सामान्य बहसमा २४ सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम छ । उनी २२ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा रहनेछन् । यो प्रधानमन्त्रीका रूपमा शाहको पहिलो विदेश भ्रमणसमेत हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार महासभाको ८१औँ सत्रको उच्चस्तरीय सप्ताह २२ देखि २९ सेप्टेम्बरसम्म सञ्चालन हुँदैछ । सामान्य बहस २२ देखि २६ सेप्टेम्बर तथा २८ सेप्टेम्बरमा हुनेछ । यस वर्षको महासभाको मूल विषय ‘Restoring trust, managing transformation: A United Nations that delivers for all’ रहेको छ ।

गुटेरेससँग भेटवार्ता

न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा नेपालका प्राथमिकता तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुनेछ ।

महासभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका असर तथा बाढीपहिरोजस्ता विपद्बाट भएको मानवीय र भौतिक क्षतिको विषय उठाउने तयारी छ । परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार नेपालले जलवायु न्याय तथा ‘Loss and Damage’ कोषलगायत संयन्त्रबाट उचित र तत्काल सहयोगको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नेछ ।

हालैको भोटेकोशी बाढीबाट भएको ठूलो क्षतिपछि नेपालले जलवायु परिवर्तनका कारण जोखिममा परेका हिमाली तथा विकासोन्मुख मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्तको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।

परराष्ट्रमन्त्रीसहितको टोली पनि न्युयोर्कमा

परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै सेप्टेम्बर २० मा न्युयोर्क पुगेका छन् । उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउने र विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी सहभागी छन् । प्रधानमन्त्री शाह २६ सेप्टेम्बरमा स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest