६ असोज, काठमाडौँ— जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको मिक्स्ड डबल्समा नेपालका इभाना थापा र रुवीन महर्जनको जोडीले विजयी सुरुआत गरेको छ।
स्काइ हल टोयोटामा सोमबार भएको पहिलो चरणको खेलमा इभाना र रुवीनले पाकिस्तानका मुहम्मद खान र कल्सुम खानको जोडीलाई ३–० को सोझो सेटमा पराजित गरे। नेपालले पहिलो सेट ११–६, दोस्रो ११–८ र तेस्रो सेट ११–४ ले आफ्नो पक्षमा पारेको हो।
नेपालको यो जोडीले अब अर्को चरणमा हङकङका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछ।
इभाना र रुवीन दुवै यसपटकको एसियाली खेलकुदका लागि नेपालबाट टेबलटेनिसमा छनोट भएका ६ खेलाडीमध्ये हुन्। अखिल नेपाल टेबलटेनिस संघले गरेको छनोट प्रतियोगिताबाट इभाना महिलातर्फ दोस्रो तथा रुवीन पुरुषतर्फ दोस्रो हुँदै एसियाडका लागि छनोट भएका थिए।
संयोग–नविता पहिलो चरणमै रोकिए
मिक्स्ड डबल्सकै अर्को खेलमा नेपालका संयोग कपाली र नविता श्रेष्ठको जोडी भने पहिलो चरणबाटै बाहिरिएको छ।
संयोग र नविताको जोडी मङ्गोलियाका अन्खबायर बिल्गुन र सेर ओड अन्खमाको जोडीसँग ३–१ ले पराजित भयो। नेपालले सुरुआती सेट ११–२ ले जिते पनि त्यसपछि लगातार तीन सेट गुमायो। मङ्गोलियाले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः ११–६, ११–६ र ११–९ ले जितेको हो।
आइची–नागोया २०२६ एसियाली खेलकुदमा टेबलटेनिसका लागि नेपालबाट नविता श्रेष्ठ, इभाना थापा, योङगी पौडेल, रुवीन महर्जन, संयोग कपाली र गणञ्जय दाहाल सहभागी छन्।
एसियाली खेलकुदको आधिकारिक आयोजकका अनुसार टेबलटेनिसका खेलहरू टोयोटास्थित स्काइ हल टोयोटामा सञ्चालन भइरहेका छन्।