संयुक्त राष्ट्रसङ्घ। साउदी अरबमाथि हुथी समूहले जारी राखेका सीमापार आक्रमणहरूको भर्त्सना गर्दै संयुक्त राष्ट्रसङ्घले सबै पक्षलाई संयम अपनाउन र तनाव थप बढ्न नदिन आग्रह गरेको छ। राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले पत्रकार सम्मेलनमा बोल्दै साउदी राजधानी रियादलाई लक्षित गर्ने प्रयासका साथै साउदी अरबका नागरिक र उर्जा पूर्वाधारहरूमाथि भइरहेका आक्रमणहरूको पुनः निन्दा गरेका छन्।
प्रवक्ता दुजारिकले यमन र यसको वरपरका क्षेत्रहरूमा जारी सैन्य तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। विशेष गरी यमनका ताइज, लाहज र मारिब क्षेत्रमा हुथी समूहले अघि बढाएका आक्रमणहरूले यमन र समग्र क्षेत्रका नागरिकहरूमाथि गम्भीर असर पारिरहेको उनले बताएका छन्।
राष्ट्रसङ्घले सर्वसाधारण र नागरिक पूर्वाधारहरूमाथि प्रत्यक्ष आक्रमण गर्न नपाइने अन्तर्राष्ट्रिय मानवीय कानुन अन्तर्गतका दायित्वहरू पालना गर्न सबै सम्बद्ध पक्षहरूलाई ताकेता गरेको छ। यसैबिच, तनाव न्यूनीकरणका लागि कूटनीतिक प्रयास जारी राखिएको र यमनका लागि राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्ग ओमानको मस्कट पुगेर वरिष्ठ ओमानी अधिकारीहरू तथा हुथी प्रतिनिधिहरूसँग छलफल गरिरहेको प्रवक्ता दुजारिकले जानकारी दिएका छन्।