२ असोज, काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा ३३४ जना कर्मचारी माग गर्दै नयाँ भर्ना खुला गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गतको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार भर्नासम्बन्धी सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो।
प्रहरीका अनुसार प्रहरी सहायक निरीक्षक (जनपद) २११ जना माग गरिएको छ। त्यस्तै, प्रहरी कार्यालय सहायक (भान्छे) ८३ जना, प्रहरी कार्यालय सहायक (हजाम) १५ जना र प्रहरी कार्यालय सहयोगी (कुचिकार) २५ जना पदमा पनि दरखास्त आह्वान गरिएको छ।
इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन तथा भर्नासम्बन्धी विस्तृत विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा प्रकाशित सूचनामा उपलब्ध छ।