२ असोज, काठमाडौँ— रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना यातायात मजदुर सम्पर्कविहीन भएको र ५ सय १५ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार बसेको बैठकमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै उक्त तथ्याङ्क दिएको हो। महासङ्घका अनुसार सम्पर्कविहीन मजदुर तथा हराएका ट्रक–कन्टेनरको सङ्ख्या थप बढ्न सक्ने सम्भावना छ।
बाढीका कारण सार्वजनिक यातायात तथा ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेकाले वास्तविक क्षतिको विस्तृत विवरण सङ्कलन गर्नुपर्ने महासङ्घले जनाएको छ। महासङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँले ढुवानी व्यवसायमा भएको क्षतिको यथार्थ मूल्याङ्कन गरी प्रभावित व्यवसायी तथा मजदुरका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताएका छन्।
यसैबीच, पूर्वाधार विकास मन्त्रालयले बाढीबाट यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन र क्षतिपूर्तिको आधार तय गर्न समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा गठित समितिलाई १५ दिनभित्र राय–सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्ने जिम्मेवारी दिइएको छ।
समितिमा पूर्वाधार विकास मन्त्रालय तथा मन्त्रीको सचिवालयका प्रतिनिधि, यातायात व्यवसायी र यातायात मजदुरका प्रतिनिधिसहित नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष बानियाँ र महासचिव बद्रीप्रसाद चौलागाईं सदस्य रहेका छन्। समितिले यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्ति निर्धारणका लागि आवश्यक आधारसमेत तय गर्नेछ।