म्याग्दी । निर्माणणाधीन ३५.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनाको अडिट (मुख्य सुरुङमा छिर्ने सहायक मार्ग) देखि बाँधस्थलतर्फको सुरुङमार्गको ‘ब्रेकथ्रू’ भएको छ।
म्याग्दी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको धवलागिरि गाउँपालिका-४ छहरीस्थित अडिट क्षेत्रबाट मालिका गाउँपालिका-७ भारवाङमा निर्माणाधीन विद्युतगृह जोड्ने सुरुङको बुधबार सफलतापूर्बक ‘ब्रेकथ्रू’ गराइएको हो।
आयोजना प्रमुख ज्योति कुमार केसीका अनुसार अडिटस्थलबाट पावरहाउस जोड्ने २,५०६.३९ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न भएको छ।
“छहरीस्थित अडिटदेखि धवलागिरि गाउँपालिका-४ मा पर्ने बाँधस्थलसम्मको कूल ३,२८३.३२ मिटर सुरुङमध्ये हालसम्म १,९७३ मिटर निर्माण पूरा भइसकेको छ,” केसीले भने, “बाँकी सुरुङको काम पनि आगामी केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ द्रुत गतिमा काम भइरहेको छ।”
हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ५६ प्रतिशत पुगेको र आगामी एक वर्षभित्रै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख केसीले जानकारी दिए।








