विश्वका चुनौतीबीच संयुक्त राष्ट्र महासभाको ८१औँ अधिवेशन सुरु

न्युयोर्क।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मंगलबार न्युयोर्कस्थित मुख्यालयमा सुरु भएको छ। यस वर्षको अधिवेशनको मूल विषय ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ’ तय गरिएको छ। अधिवेशनको औपचारिक सुरुवात सेप्टेम्बर ८ बाट भएको हो। 

बंगलादेशका कूटनीतिज्ञ खालिलुर रहमानले महासभाको अध्यक्षका रूपमा अधिवेशनको नेतृत्व गरिरहेका छन्। उनलाई २ जुन २०२६ मा ८१औँ अधिवेशनका लागि अध्यक्ष चयन गरिएको थियो। 

यस अधिवेशनमा विश्वशान्ति तथा सुरक्षा, दिगो विकास लक्ष्यको कार्यान्वयन, जलवायु परिवर्तन, मानवअधिकार, उदीयमान प्रविधि तथा कृत्रिम बौद्धिकताको शासन, विकासका लागि वित्तीय स्रोत र संयुक्त राष्ट्रसङ्घको सुधारलगायत विषय प्राथमिकतामा छन्। 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो द्वन्द्व, मानवीय संकट, जलवायु जोखिम र बहुपक्षीय व्यवस्थाप्रतिको विश्वासमा आएको चुनौतीबीच अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै आएका छन्। महासभाको यस वर्षको विषय पनि बहुपक्षीय प्रणालीप्रतिको विश्वास पुनर्निर्माण र त्यसलाई थप प्रभावकारी बनाउने उद्देश्यसँग जोडिएको छ। 

महासभाको उच्चस्तरीय सप्ताह भने सेप्टेम्बर १८ देखि २८ सम्म आयोजना हुँदैछ। यस अवधिमा विश्वका राष्ट्र तथा सरकार प्रमुखले शान्ति, विकास, समानता, जलवायु परिवर्तन र अन्य अन्तर्राष्ट्रिय मुद्दामा आफ्ना धारणा प्रस्तुत गर्नेछन्। 

नेपालले पनि यस अधिवेशनमा महत्वपूर्ण जिम्मेवारी पाएको छ। नेपालका संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा ८१औँ महासभाको निरस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिला हेर्ने पहिलो समितिका अध्यक्ष चयन भएका छन्। 

थापा यसअघि कम विकसित राष्ट्रहरूको समूह (LDCs) को अध्यक्षका रूपमा पनि नेपालको प्रतिनिधित्व गर्दै आएका थिए। ८ सेप्टेम्बरमा अफ्रिकी कम विकसित राष्ट्रहरूको दोहा कार्ययोजना मध्यावधि समीक्षा बैठकमा पनि उनले सहभागिता जनाएका थिए। 

८१औँ महासभा यस्तो समयमा सुरु भएको छ, जब विश्व विभिन्न क्षेत्रीय द्वन्द्व, जलवायु संकट, विकास वित्तको अभाव, मानवीय समस्या र नयाँ प्रविधिको प्रभावजस्ता चुनौतीसँग जुधिरहेको छ। महासभाले यी विषयमा साझा समाधान खोज्न र बहुपक्षीय सहकार्यलाई प्रभावकारी बनाउने प्रयास गर्ने अपेक्षा गरिएको छ। 

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x