बर्लिन । पूर्वी जर्मनीको ज्याक्सनी-अनहाल्टराज्यमा भएको क्षेत्रीय चुनावमा उग्र-दक्षिणपन्थी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी’ (AfD) ले ऐतिहासिक जित हासिल गरेको छ। ४३.८ प्रतिशत मत प्राप्त गर्दै ठूलो दल बने पनि बहुमतका लागि आवश्यक सिट पुर्याउन भने पार्टी असफल भएको छ।
८३ सदस्यीय प्रान्तीय संसदमा बहुमतका लागि ४२ सिट आवश्यक पर्नेमा AfD ले ३९ सिट मात्र हासिल गरेको छ। चान्सलर फ्रिडरिक मर्त्जको मध्य-दक्षिणपन्थी कन्जरभेटिभ पार्टीले १७.२ प्रतिशत मतमा सीमित हुँदै ठूलो पराजय व्यहोरेको छ।
AfD का ३५ वर्षीय मुख्य उम्मेदवार उलरिच सिग्मुन्डले यो परिणामलाई ऐतिहासिक भन्दै जनताले स्पष्ट परिवर्तनको जनादेश दिएको दाबी गरेका छन्। यद्यपि, जर्मनीका मुख्यधाराका परम्परागत राजनीतिक दलहरूले उग्र-दक्षिणपन्थी विचारधारा बोकेको AfD सँग कुनै पनि हालतमा गठबन्धन नगर्ने (फायरवाल) नीति कायम राखेकाले त्यहाँ सरकार गठनको प्रक्रिया निकै जटिल र अनिश्चित बनेको छ।








