सुदूरपश्चिम । कैलालीसहित सुदूरपश्चिमका विभिन्न भूभागमा भइरहेको वर्षा आगामी तीन दिनसम्म जारी रहने भएको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार भदौ २४ गतेसम्म हिमाली, पहाडी र तराईका अधिकांश भूभागमा मौसम बदली रही मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहका अनुसार तराई र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। मङ्गलवारदेखि वर्षाको तीव्रतामा केही कमी आए पनि मौसम पूर्ण रूपमा नखुल्ने र केही स्थानमा मध्यम वर्षा जारी रहने पूर्वानुमान छ।








