तेहरान । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नवनियुक्त प्रमुख मोहसिन रेजाईले हर्मुज जलडमरूमध्य भएर आवतजावत गर्न खोज्ने व्यावसायिक तथा सैन्य जहाजहरूलाई लक्षित गरी जलडमरूमध्य बाहिर ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गर्ने तयारी भइरहेको बताएका छन्। इरानी सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आगामी दिनमा यो नयाँ क्षेत्रको औपचारिक घोषणा गरिने जानकारी दिएका हुन्।
अमेरिकाले इरानी तेल ट्याङ्करहरूमाथि क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट इरानका तर्फबाट यो कडा प्रतिक्रिया आएको हो। यसअघि इरानले अमेरिकी युद्धपोतहरूलाई लक्षित गरी बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेपछि अमेरिकाले पनि जवाफी कारबाही गरेको थियो। रेजाईका अनुसार यो प्रतिबन्धित क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दीको रेखादेखि सुरु भई हर्मुज जलडमरूमध्य र फारसको खाडीसम्म फैलिनेछ। उक्त क्षेत्रमा प्रवेश गरी हर्मुज जलडमरूमध्य पार गर्न खोज्ने जुनसुकै जहाज पहिचान गरी इरानको कालोसूची तथा प्रतिबन्धमा पर्ने चेतावनी उनले दिएका छन्।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको यो युद्ध छैटौँ महिनामा प्रवेश गर्दा पनि शान्त हुन सकेको छैन। अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाउँदै २० भन्दा बढी युद्धपोतहरू परिचालन गरेको छ, जसले हालसम्म ९२ वटा व्यापारिक जहाजहरूको मार्ग परिवर्तन गराइसकेको छ। व्यापारिक र रणनीतिक रूपमा विश्वकै महत्त्वपूर्ण जलमार्ग मानिने हर्मुज जलडमरूमध्यमा इरानले चालेको यो नयाँ कदमले अन्तर्राष्ट्रिय समुद्री व्यापार र इन्धन आपूर्तिमा थप जटिलता थप्ने देखिएको छ।







