काठमाडौँ, १८ भदौ । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार नेपाली सेनाको हवाई उद्धारमार्फत ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिक गरी ४ हजार ३६४ जनाको उद्धार गरिएको छ।
बाढी तथा अन्य विपद्का घटनामा घाइते भएका ५ हजार १३५ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ। तीमध्ये नेपाली सेनाबाट ३ हजार २०६, सशस्त्र प्रहरी बलबाट १ हजार ६२८ तथा विभिन्न अस्पतालमा ३०१ जनाको उपचार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताइन्।
उद्धार गरिएका ३ हजार ९४८ जना विभिन्न होल्डिङ सेन्टरमा रहेका छन्। प्राधिकरणका अनुसार नुवाकोटमा २ हजार ९८१, धादिङमा २६०, रसुवामा ३२० र काठमाडौँमा ३८७ जना होल्डिङ सेन्टरमा रहेका छन्।
खोज, उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा काठमाडौँबाट ४५ ट्रक, ३७ बोलेरो, १४ मिनीट्रक र हेलिकप्टरका नौ उडानमार्फत राहत सामग्री पठाइएको छ। सशस्त्र प्रहरी बलले नुवाकोट र रसुवामा १३० हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको छ।
इन्धन आपूर्तितर्फ प्रभावित क्षेत्रमा ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात रहेको प्राधिकरणले जनाएको छ।
बाढीबाट प्रभावित सञ्चार पूर्वाधारसमेत क्रमशः सञ्चालनमा आएका छन्। नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ टावरमध्ये ७५ वटा सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै विस्थापितको व्यवस्थापन, राहत वितरण, स्वास्थ्य सेवा र सञ्चार तथा इन्धन आपूर्तिलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ।