काठमाडौं, १८ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा भासिएको सडक खुलाउन पहिरो पन्छाउने काम अघि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान सुरु गरिएको छ।
पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। रुख कटानको काम सम्पन्न भएपछि उपकरण परिचालन गरी पहिरो हटाउने काम सुरु गरिनेछ।
सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र पारिएको मन्त्रालयको भनाइ छ। यसअघि सरकारले कृष्णभिरमा तत्काल अस्थायी संरचना निर्माण गरी यातायात सञ्चालनमा ल्याउने तथा दीर्घकालीन रूपमा वैकल्पिक मार्ग वा सुरुङ निर्माणको सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको थियो।
त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभिरमा सडकको ठूलो हिस्सा भासिएको हो। यसका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्डमा यातायात आवागमन प्रभावित भएको छ।
पृथ्वी राजमार्ग काठमाडौं उपत्यकालाई देशका मध्य तथा पश्चिमी जिल्लासँग जोड्ने प्रमुख सडक भएकाले कृष्णभिरको अवरोधले यात्रु आवागमनसँगै सामान ढुवानीमा समेत असर परेको छ। काठमाडौं उपत्यकामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन सक्ने चिन्ता बढेको छ।
यातायात अवरोधको प्रभाव कम गर्न वैकल्पिक सडकमार्ग प्रयोग भइरहेको छ। सरकारले कृष्णभिरको तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन रूपमा सुरुङ, बाइपास वा अन्य प्राविधिक विकल्पबारे अध्ययन अघि बढाउने निर्णयसमेत गरेको छ।
कृष्णभिरमा यसअघि पनि पटकपटक पहिरो जाने गरेको थियो। विगतमा निर्माण गरिएको पहिरो नियन्त्रण संरचनाको आयु सकिएपछि यसपटक सडक नै भासिएर यातायात पूर्ण रूपमा प्रभावित भएको विवरण सार्वजनिक भएका छन्।