बर्लिन। जर्मनीमा रुसद्वारा गराइएको भनिएको पछिल्लो ‘हाइब्रिड आक्रमण’ (ड्रोन घुसपैठ) को प्रयासपछि युरोपेली युनियन (EU) र उत्तरी एटलान्टिक सन्धि सङ्गठन (NATO) ले मस्कोमाथि थप कडा रणनीतिक तथा कूटनीतिक दबाब बढाउने प्रतिबद्धता जनाएका छन्। जर्मनीको रणनीतिक विमानस्थलमा गैरकानुनी ड्रोन गतिविधि गरी सुरक्षा सङ्कट निम्त्याउन खोजेको भन्दै जर्मन अधिकारीहरूले रुसमाथि सीधा आरोप लगाएपछि पश्चिमा गठबन्धनहरूले सो कदमको कडा प्रतिवाद गर्ने स्पष्ट पारेका हुन्।
युरोपेली अधिकारीहरूका अनुसार रुसले युरोपभित्र जासुसी, साइबर आक्रमण र पूर्वाधारमा बाधा पुर्याउने जस्ता हाइब्रिड गतिविधिहरू तीव्र पारेको छ। नेटो र ईयूका प्रतिनिधिहरूले यस्ता उत्तेजक गतिविधिहरूले युरोपेली सुरक्षा प्रणालीलाई कमजोर बनाउन नसक्ने बताउँदै रुसविरुद्ध थप कडा प्रतिबन्धहरू लागू गर्ने र पूर्वी युरोपको रक्षा प्रणालीलाई थप सुदृढ बनाउने चेतावनी दिएका छन्। जर्मनीले पनि उक्त घटनालाई लिएर रुसी कूटनीतिज्ञहरूमाथि कूटनीतिक कारबाहीको तयारी अघि बढाएको छ।