अविरल वर्षाका कारण बागमती प्रदेशका मुख्य राजमार्ग प्रभावित, प्रहरीद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागमती प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार पहिरोका कारण कतिपय सडक पूर्ण रूपमा ठप्प भएका छन् भने केही मार्गमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

रसुवास्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेलगायतका क्षेत्रमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ। नुवाकोटको बेत्रावती–१० सिमटारमा पनि सडक पूर्ण अवरुद्ध छ भने टोखा–छहरे र पासाङल्हामु सडकखण्डको शिवपुरी–घट्टेखोलामा जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ–७ कृष्णभीरमा पहिरोले बाटो छेकेको छ भने गजुरी, ज्वाडखोला र कमेरेभीरमा पहिरो पन्छाएर एकतर्फी यातायात खुलाइएको छ। काठमाडौँ–धादिङ सडकखण्डको चन्द्रागिरि–२ चिसापानीमा पनि पहिरो सफा गरिएपछि अहिले एकतर्फी रूपमा गाडी चलिरहेका छन्।

काभ्रेपलाञ्चोकको बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी क्षेत्रमा बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी साधन सञ्चालनमा समयसीमा तोकिएको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा रातिको समयमा यात्रा नगर्न र यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सडकको अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments