त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा आएको छ। विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन चल्न थालेसँगै बाढी प्रभावित क्षेत्रमा आवतजावत तथा राहत कार्यमा थप सहज भएको छ।
भोटेकोशी बाढीका कारण क्षति पुगेका सडक तथा डुबानमा परेका बस्तीहरूमा सवारी सञ्चालन गराउने कार्यलाई जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको थियो।
ढुङ्गेबजारको बस्ती र सडकमा पुगेको लेदो तथा डुबानको अवरोध हटाएर बाटो सहज गराइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिएका छन्। सडक सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा शव व्यवस्थापन गर्न, क्षति हुन बाँकी घरका सामग्री सङ्कलन गर्न र बेत्रावतीसम्म पुग्न सजिलो भएको छ। नगरप्रमुख श्रेष्ठका अनुसार सडक खुलेसँगै क्षति पुगेका अन्य स्थानमा मर्मतका लागि यन्त्रउपकरण र जनशक्ति पठाउन समेत सहज भएको छ।








