ब्रसेल्स । नेपाल र चीनको तिब्बत सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीका कारण उत्पन्न सङ्कट न्यूनीकरण तथा उद्धार कार्यलाई सहयोग पुर्याउन युरोपेली युनियन ले आफ्नो ‘कपरनिकस’ भू-उपग्रह निगरानी प्रणाली सक्रिय बनाएको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै ईयू थप सहायता उपलब्ध गराउन तयार रहेको स्पष्ट पारिन्।
लहेन्दे तथा भोटेकोशी नदी क्षेत्रमा हिमपहिरो र सम्भावित भूकम्पका कारण आएको बाढीले रसुवा, नुवाकोटलगायतका सीमावर्ती क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने सयौँ स्वदेशी तथा विदेशी पर्यटकहरू सम्पर्कविहीन भएका छन्।
युरोपेली युनियनले प्रभावित क्षेत्रको वास्तविक नक्साङ्कन गरी उद्धार टोलीलाई सहयोग पुर्याउन यो प्रविधि प्रयोगमा ल्याएको हो।








