कपाल काट्ने विवाद: शिक्षा नियमावलीले जबर्जस्ती रोक्यो, तर व्यवहारमा चुनौती कायमै

चितवन । सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०औँ संशोधन)ले विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न बाध्य पार्न नपाइने व्यवस्था गरेको छ। विद्यालयहरूले विद्यार्थीको इच्छाविपरीत कपाल काटेको वा काट्न लगाएको गुनासोपछि सरकारले यो प्रावधान थपेको हो।

नियमावलीको नियम २५ अनुसार विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक वा मनोसामाजिक अवस्थामा नकारात्मक असर पार्ने कुनै पनि गतिविधि विद्यालय परिसर वा कक्षाकोठाभित्र गर्न वा गराउन नपाइने उल्लेख छ। शारीरिक स्वरूप, पहिरन वा शृङ्गारका आधारमा विद्यार्थीलाई होच्याउन, लाञ्छित गर्न वा चरित्रमाथि प्रश्न उठाउन नपाइने पनि नियमावलीमा किटान गरिएको छ।

तर विद्यालयस्तरमा यो व्यवस्था लागू गर्न अझै चुनौती रहेको एक स्रोतले बताएका छन्: “अहिले कपाल काट्ने विषयमा केही गर्न सक्ने अवस्था नै छैन। कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीमा यस्तो अवस्था छ।”

वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरेका अनुसार पहिले विद्यार्थीले क्याम्पस पढ्ने उमेरमा मात्र चलचित्रमार्फत विश्वका गतिविधि थाहा पाई नक्कल गर्थे, तर अहिले सानै उमेरदेखि इन्टरनेट र सामाजिक सञ्जालको पहुँच हुँदा किशोरावस्थादेखि नै त्यस्तो प्रवृत्ति देखिएको छ। घिमिरे भन्छन्: “नक्कल गर्ने मानिसको नैसर्गिक गुण हो। जे चिज ‘सेलिब्रेटी’ले गर्छन्, त्यसको नक्कल उनीहरू गर्न चाहन्छन्।” थप्दै उनले भने, “बच्चाले मोबाइलमा सेलिब्रेटी देखेको छ, पहिले ठूलो भएपछि देख्थ्यो, अहिले त्यो उमेर तल झरेको छ।”

घिमिरेका अनुसार कपाल पाल्नु आफैंमा नराम्रो होइन, तर त्यसको स्याहारमा लाग्ने खर्च र समयले पढाइमा असर पार्ने गरेको छ। घर र विद्यालयबाट कपाल नपाल्न आग्रह भए पनि नमान्नुलाई आज्ञाकारिताविरुद्धको सांकेतिक विरोधका रूपमा पनि लिन सकिने उनको भनाइ छ। विशेषगरी विद्यालय र कलेजस्तरका किशोरहरू परम्परागत छोटो कपालभन्दा फरक, आकर्षक र आधुनिक शैलीतर्फ आकर्षित हुँदै गएका छन्, जसमा सामाजिक सञ्जाल, चलचित्र, सङ्गीत र विदेशी फेसनको प्रभाव देखिन्छ।
विज्ञहरूका अनुसार लामो कपाल सफा गर्न गाह्रो हुने, दैनिक हेरचाहमा समय र खर्च बढी लाग्ने र उचित स्याहार नभएमा जुम्रा वा चायाजस्ता समस्या निम्तिन सक्ने गरेको छ। विशेषगरी गर्मी महिनामा लामो वा बाक्लो कपालमा पसिना र फोहर जम्ने समस्या बढी देखिन्छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments