काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहो अलैहि वसल्लम)को १५०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मुस्लिम समुदायमा मोहम्मदलाई सन्देष्टाका रूपमा मानिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो, पछि मोहम्मद साउदी अरबकै मदिना सरेको थियो। मोहम्मदको जन्मको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भएको थियो। हाल हिजरी संवत् १४४८ चलिरहेको छ।
सृष्टिकालदेखि नै पवित्र स्थलका रूपमा रहँदै आएको मक्का र मदिना पहिले सबै धर्मावलम्बीका लागि साझा तीर्थस्थल थिए। मुस्लिम समुदायको विश्वासअनुसार मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको थियो। कुरान अवतरणपछि यस क्षेत्रमा अन्य धर्मावलम्बीको उपस्थिति क्रमशः घट्दै गयो र यो स्थान इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रूपमा स्थापित भयो। यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो। यही आस्थाका कारण इस्लाम धर्मावलम्बीहरू जीवनमा एकपटक मक्का-मदिना पुगेर हज गर्न चाहन्छन्।
इस्लाम धर्मको विकास र विस्तारमा मोहम्मदको महत्वपूर्ण योगदान रहेको मानिन्छ, जसका कारण उसका उपदेशहरूलाई यस अवसरमा विशेष रूपमा स्मरण गरिन्छ। जन्मजयन्तीका अवसरमा आज विभिन्न स्थानमा र्याली, सभालगायतका कार्यक्रम आयोजना गरिँदैछ। काठमाडौंस्थित नेपाली जामे मस्जिद र काश्मिरी जामे मस्जिदलगायत विभिन्न स्थानमा आज विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ।








