काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोली आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग खेल्दैछ। दुवै टोलीबीचको यो खेल आज अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ।
सिरिजमा नेपाली टोली हाल दोस्रो जितको खोजीमा रहेको छ।
नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै यस सिरिजको पहिलो जित हासिल गरेको थियो। यसअघि खेलिएका पहिलो र दोस्रो खेलमा भने नेपाललाई क्रमशः नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट र बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध नौ विकेटको ठूलो अन्तरले हार बेहोर्नुपरेको थियो।
अर्कोतर्फ, आजको प्रतिद्वन्द्वी एसिटीको टोली भने अझै पहिलो जितको खोजीमा छ। सिरिजमा हालसम्म खेलेका तीनवटै खेलमा एसिटीले हार बेहोरिसकेको छ, जसले गर्दा आजको खेल उसका लागि निकै महत्त्वपूर्ण बनेको छ।
तालिकामा नेपाल हाल दुई अङ्कसहित सातौँ स्थानमा रहेको छ। सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्नका लागि नेपालले आजको खेल जित्नैपर्ने अवस्था छ, जसले गर्दा टोलीमाथि दबाब बढेको देखिन्छ।
यस संस्करणको टप एन्ड टी–२० सिरिजका लागि नेपाल ‘ए’ को टोलीको नेतृत्व अनिलकुमार शाहले गरिरहेका छन्। टोलीमा कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल र मयन यादव रहेका छन् भने दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री समेत टोलीमा समावेश छन्।








