प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले सोध्नेछन् प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्, जुन लामो समयदेखि पर्खिइरहेको कार्यक्रम हो।
संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ। यस प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका जम्मा ११ सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने तयारी गरेका छन्।
प्रश्न सोध्नेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समीक्षा बाँस्कोटा, अमरेशकुमार सिंह र कृष्णहरि बुढाथोकी गरी तीन जना, नेपाली कांग्रेसबाट वासना थापा र गीता गुरुङ, नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना, नेकपाबाट वर्षमान पुन र प्रमेशकुमार हमाल छन्। यसबाहेक श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की खुश्बु ओलीले पनि प्रधानमन्त्रीसँग प्रश्न सोध्नेछन्।
सांसदहरूले सरकारको कामकारबाही, नीतिगत निर्णय र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने तयारी गरेका छन्। प्रतिनिधिसभा नियमावलीको नियम ५६ ले प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था गरे पनि लामो समयसम्म यस्तो कार्यक्रम नभएको भन्दै प्रतिपक्षी सांसदहरूले निरन्तर विरोध जनाउँदै आएका थिए। प्रतिपक्षको दबाबपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ दिँदै बुधबारका लागि प्रश्नोत्तर कार्यक्रम राखेका थिए।
आजकै बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्नेछन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सदनसमक्ष प्रस्तुत गर्नेछन्।
यसैगरी आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छुट्टाछुट्टै बैठक पनि बस्नेछ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x