कोशी प्रदेशसभाः मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत प्राप्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न उनले प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम प्रस्ताव पेस गरेका थिए।

मुख्यमन्त्री कार्कीको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्यले मत दिए, जसअनुसार उनले ५७ मत प्राप्त गरे। कोशी प्रदेशसभामा एमालेका ४० र नेकपाका १७ सदस्य छन्। विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरे। कांग्रेसका २९ सदस्य रहेकामा विपक्षमा २२ मत परे। राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित पाँच सदस्य मतदानमा तटस्थ रहे।

जनता समाजवादी पार्टीकी एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू आजको सभामा अनुपस्थित रहिन् भने एक जनाले यसअघि नै राजीनामा दिइसकेका छन्। विश्वासको मतदान प्रक्रियामा ८३ सदस्य सहभागी भएका थिए। प्रदेशसभाको अर्को बैठक यही भदौ ९ गते दिउँसो १ः०० बजे बस्नेछ।

Shares
5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest