सुशासन र नैतिकताविना विकास सम्भव छैनः राष्ट्रपति पौडेल

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको बदलिँदो परिवेशमा जनताको विकासको चाहना सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने बताएका छन्। राज्यको सफलता र विकासलाई आर्थिक सूचकबाट मात्र मापन गर्न नहुने उनको भनाइ थियो।

नेपाल जनप्रशासन सङ्घद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै उनले प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न सकिने भए पनि आचरण, नैतिकता र इमान्दारी व्यक्तिको अन्तस्करणसँग जोडिएको विषय भएको बताए ।

“जनताले राज्यबाट झन्झटरहित तरिकाले पाउने छिटोछरितो र गुणस्तरीय सेवा, निर्णय प्रक्रियाको पारदर्शिता, संस्थाको जवाफदेहिता, न्यायपूर्ण व्यवहार, विधिको शासन र सार्वजनिक संस्थाप्रतिको विश्वासलाई पनि हामीले बिर्सनु हुँदैन,” उनले भने।
प्रविधि परिवर्तन भए पनि इमान्दारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता जस्ता मूल्य कहिल्यै पुराना नहुने उनले उल्लेख गरे। नेपाल जनप्रशासन सङ्घजस्ता पेसागत संस्थाले नीति निर्माण, प्रशासनिक सुधार र सुशासनका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पनि उनले व्यक्त गरे।

नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसनले आयोजना गरेको यस कार्यक्रममा स्वर्गीय हेमबहादुर मल्लको सम्झनामा दिइने सम्मानबाट डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाल सम्मानित भए। राष्ट्रपति पौडेलले दुवैलाई बधाई दिँदै सार्वजनिक सेवाप्रतिको समर्पण र राष्ट्रनिर्माणमा पुर्‍याएको योगदानको कदर गरे।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments