मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यका अधिकारीहरूले पर्यटकीय क्षेत्रमा रहेका करिब ५ हजार ‘लिटल पेन्गुइन’ (लिटिल पेन्गुइन) लाई घातक एच५एन१ (H5N1) बर्ड फ्लुविरुद्ध खोप लगाउन सुरु गरेका छन्।
अत्यधिक संक्रामक H5N1 भाइरसको जोखिम बढेपछि राज्य सरकारले फिलिप आइल्याण्ड र मेलबर्नको सेन्ट किल्डा क्षेत्रमा रहेका पेन्गुइनहरूलाई खोप दिने योजना बनाएको हो। अगस्टको सुरुदेखि प्रारम्भ गरिएको यस अभियानअन्तर्गत फिलिप आइल्याण्ड नेचर पार्क्सका प्राविधिकहरूले आइतबार राति १ हजारौँ पेन्गुइनलाई खोपको पहिलो मात्रा दिइसकेका छन्।
अष्ट्रेलिया र न्युजिल्यान्डमा मात्र पाइने यो प्रजातिको सबैभन्दा ठूलो बासस्थान फिलिप आइल्याण्डमा छ, जहाँ करिब ४० हजार पेन्गुइनहरू रहेका छन्। साँझको समयमा पेन्गुइनहरू समुद्रबाट फर्केर आफ्नो गुँडतिर हिँडेको हेर्न प्रत्येक वर्ष लाखौँ पर्यटकहरू त्यहाँ पुग्ने गर्छन्।
भिक्टोरियाकी वातावरण मन्त्री ज्याक्लिन सिम्सका अनुसार खोपको पहिलो मात्रा पाएका पेन्गुइनहरूलाई तीनदेखि चार हप्ताभित्र पुनः समातेर दोस्रो मात्रा दिइनेछ। “बर्ड फ्लु फैलिरहेको र यसलाई पूर्ण रूपमा रोक्न नसकिने भएकाले पेन्गुइनहरूलाई सम्भव भएसम्म सुरक्षित राख्न खोप दिइएको हो,” मन्त्री सिम्सले भनिन्।
राज्यको वातावरण विभागको एक प्रतिवेदन अनुसार H5N1 को सङ्क्रमण फैलिएमा फिलिप आइल्याण्डका ४० प्रतिशतसम्म पेन्गुइनहरू मर्न सक्ने अनुमान गरिएको थियो। यसअघि अगस्ट १५ मा फिलिप आइल्याण्डमै अष्ट्रेलियाको पहिलो सङ्क्रमित पेन्गुइन फेला परेको थियो।