जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ ले परिकल्पना गरेको अन्तर्राष्ट्रिय सुरक्षा बलमा सहभागिता जनाउन युगान्डा र बुरुन्डीका सैन्य अधिकारीहरूले इजरायलको भ्रमण गरी छलफल गरेका छन्। गाजामा जारी अस्थिर युद्धविरामलाई कायम राख्न गठन गर्न लागिएको सुरक्षा बलका विषयमा उक्त वार्ता भएको हो।
‘बोर्ड अफ पिस’ का एक अधिकारीका अनुसार युगान्डाको संसद्ले सैनिक पठाउने प्रस्ताव पारित गरिसकेकाले उसले आफ्नो सहभागिताको अन्तिम तयारी गरिरहेको छ। बुरुन्डीसँग भने हालसम्म अन्तिम सम्झौता भइसकेको छैन, तर सो देशले पनि चासो देखाएको छ।
सोमालियामा अफ्रिकी युनियनको मिसनअन्तर्गत लामो समय काम गरिसकेकाले युगान्डा र बुरुन्डीका सेनासँग शान्ति स्थापनाको राम्रो अनुभव रहेको छ।
मोरक्को, कोसोभो, काजाकिस्तान र अल्बानियापछि गाजा सुरक्षा बलमा जोडिन खोज्ने युगान्डा र बुरुन्डी पछिल्ला अफ्रिकी मुलुक हुन्। युगान्डाले करिब १,२०० र मोरक्कोले ५०० सम्म सैनिक पठाउने प्रतिबद्धता जनाएका छन्। यसअघि इन्डोनेसियाले ८,००० सैनिक पठाउने तयारी गरे पनि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सो निर्णय स्थगित गरेको थियो।
अमेरिकी मेजर जनरल ज्यास्पर जेफर्सको नेतृत्वमा गठन हुने २०,००० सदस्यी सुरक्षा बलका लागि आवश्यक सैनिक सङ्ख्या अझै पुग्न सकेको छैन।
यस योजनाअनुसार अन्तर्राष्ट्रिय स्थिरीकरण बल (ISF) गाजामा तैनाथ भएपछि इजरायली सेना फिर्ता हुनुपर्नेछ। उक्त बलले युद्धविरामको अनुगमन गर्ने, प्यालेस्टिनी प्रहरीलाई तालिम दिने र राहत सामग्रीको सुरक्षा गर्नेछ।
तर, इजरायल फिर्ता हुने र हमासको निःशस्त्रीकरणसम्बन्धी विवादका कारण अझै पूर्ण सहमति जुट्न सकेको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाको ६० प्रतिशत क्षेत्रबाट आफ्ना सेना फिर्ता नगर्ने अडान राख्दै आएका छन्।








