काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३” लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नुहुनेछ। यसैगरी परराष्ट्रमन्त्री शिशिर खनालले “राहदानी (पहिलो संशोधन) विधेयक, २०८३” समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३” समितिमा पठाउने प्रस्ताव अगाडि सार्नुहुनेछ भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले “खानी तथा खनिज पदार्थ विधेयक, २०८३” लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव राख्नुहुनेछ। सङ्घीय संसद् सचिवालयका अनुसार यही सम्भावित कार्यसूची रहेको छ।
यसका अतिरिक्त आजै अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरी पाँचवटा संसदीय समितिका बैठक पनि बस्दैछन्।








