काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ, जसका कारण देशभर साधारणतया बदली रहनेछ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने र पहाडी भागका धेरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भाग र मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना जनाइएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले उल्लेख गरेको छ।
राति पनि देशभर बादल लाग्ने र हिमाली तथा पहाडी भू-भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपात जारी रहनसक्ने बुलेटिनमा जनाइएको छ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यसका साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सम्बद्ध सबैलाई विभागको सूचनामा अद्यावधिक रहन अनुरोध गरिएको छ।








