महाधिवेशन कार्यतालिकामा शशांक कोइराला पक्षको आपत्ति, पार्टी विभाजनको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै शशांक कोइराला पक्षले आपत्ति जनाएको छ। पार्टीको विवाद समाधान नहुँदै महाधिवेशनका गतिविधि अघि बढाइएमा कांग्रेस संरचनागत रूपमा विभाजनतर्फ जाने चेतावनी समेत दिइएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी मुद्दामा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको डिभिजन बेञ्चको निर्णयविरुद्ध पुनरावलोकनका लागि निवेदन दिएको र सर्वोच्चको पूर्ण इजलासबाट पुनरावलोकनको अनुमति (निस्सा) प्राप्त भइसकेको उल्लेख गर्दै शशांक कोइराला पक्षले उक्त मुद्दा हाल अदालतमा विचाराधीन रहेको जनाएको छ। शशांक कोइरालाले जारी गरेको विज्ञप्तिमा यही अवस्थामा विशेष महाधिवेशनबाट गठित पक्षले १५औँ महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै कोइराला पक्षले विशेष महाधिवेशनका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित रहेको दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यस्तो गम्भीर विवादको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन गरे पार्टीका सबै तहमा संरचनागत रूपमा विभाजनको प्रक्रिया सुरु हुने।”

पार्टी विभाजनको प्रभाव आगामी स्थानीय तह तथा प्रदेशसभा सदस्य निर्वाचनमा समेत पर्ने दाबी गर्दै कोइराला पक्षले विशेष महाधिवेशन पक्षलाई अधिवेशन वा महाधिवेशन आयोजना नगर्न आग्रह गरेको छ। कांग्रेसका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई त्यस्ता गतिविधिमा सहभागी नहुन पनि विज्ञप्तिमार्फत अपिल गरिएको छ।

कांग्रेसभित्र पार्टीको आधिकारिकता र नेतृत्वको विषयलाई लिएर विवाद चर्किएपछि संस्थापन र विशेष महाधिवेशन पक्षबीच समानान्तर गतिविधि हुँदै आएका छन्। पछिल्लो समय विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशनको कार्यतालिका अघि सारेपछि विवाद थप पेचिलो बनेको हो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x