सरकारको साप्ताहिक प्रगति सार्वजनिक, सफ्टवेयर समिति गठनदेखि नागरिकमैत्री कार्यक्रमसम्म

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक साताका प्रमुख काम तथा उपलब्धि सार्वजनिक गरेको छ। साप्ताहिक मिडिया ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा सञ्चालनसम्बन्धी नीतिगत मार्गदर्शन र सुपरीवेक्षण गर्न सफ्टवेयर विकास तथा सञ्चालन समिति गठनसम्बन्धी आदेश सरकारले स्वीकृत गरेको जानकारी दिए।

यसै अवधिमा नीति अनुसन्धान प्रतिष्ठानका आठ प्रतिवेदन विज्ञ तथा आन्तरिक समीक्षाका लागि पठाइएको छ, जुन विद्यालय शिक्षा, लैङ्गिक सवाल, घरेलु हिंसा, सामाजिक सुरक्षा, आवास नीति, वैदेशिक लगानी र आप्रवासी पुनःएकीकरणलगायतका विषयमा तयार पारिएका हुन्।

नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी ६५ कार्यक्रम सञ्चालनका लागि सबै मन्त्रालयलाई अवधारणापत्रको मस्यौदा उपलब्ध गराइएको कार्यालयले जनाएको छ। यसका साथै प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री तथा मुख्यसचिवहरूसँग चालु आर्थिक वर्षका कार्यसम्पादन सूचक र लक्ष्यसम्बन्धी सम्झौता गरेका छन्।

सरकारी कार्यालयमा नेपाली उत्पादन तथा हस्तकलाका सामग्रीलाई प्राथमिकता दिन परिपत्र जारी गरिएको छ भने मलसम्बन्धी समस्या अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न १२ सदस्यीय कार्यदल गठन गरिएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं उपत्यकाका २९ सरकारी निकायको अनुगमन गर्दा २५७ कर्मचारीले समय पालना नगरेको र ४५ जनाले तोकिएको पोशाक नलगाएको फेला परेको छ। गण्डकी प्रदेशमा स्वास्थ्य बीमा, निःशुल्क औषधिको खरिद–वितरण र सरकारी कार्यालयको आचारसंहिता पालनाबारे पनि अनुगमन भइरहेको कार्यालयले जनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x