किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को पूर्वी क्षेत्रमा फैलिएको इबोला प्रकोप नियन्त्रणबाहिर जाँदै गएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार हालसम्म यहाँ एक हजार ७०८ जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ भने ५८० जनाको मृत्यु भइसकेको छ।
युद्धग्रस्त पूर्वी कङ्गोका इतुरी र उत्तर किभु प्रान्तमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ। डब्ल्यूएचओले यस क्षेत्रमा जनस्वास्थ्य जोखिम ‘अत्यधिक उच्च’ रहेको जनाउँदै सरकारी प्रयासले भाइरसको फैलावटलाई रोक्न नसकेको बताएको छ।
सङ्क्रमितहरूको उपचारमा मुख्य चुनौती ‘ढिलो पहिचान’ बनेको छ। रिपोर्टअनुसार, हालसम्म पुष्टि भएका ४३० मृत्युमध्ये ९२.३ प्रतिशतको उपचार केन्द्रमा पुग्नुअघि नै मृत्यु भएको पाइएको छ। यसले बिरामीको निगरानी, अस्पताल भर्ना र आइसोलेसन प्रणाली प्रभावकारी नभएको देखाउँछ। हाल करिब १२ हजार ४१२ जना सम्पर्कमा रहेका व्यक्तिहरूको निगरानी भइरहेको भए पनि सङ्क्रमितमध्ये ३२.४ प्रतिशत मात्र सम्पर्क ट्र्याकिङमार्फत पत्ता लागेका छन्।
इबोला उपचार केन्द्रहरूले थेग्न सक्ने सीमा नाघेका छन्। देशभर रहेका करिब ७०० शय्यामध्ये ९४.२ प्रतिशत भरिएका छन्। इतुरी प्रान्तमा उपचार केन्द्रहरू सङ्क्रमितको चाप थेग्न नसक्ने अवस्थामा पुगेका छन्। यद्यपि, परीक्षण प्रयोगशालाहरूको संख्या भने बढाइएको छ।
अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का महानिर्देशक जाँ कासेयाले यो प्रकोपलाई अफ्रिकामा अहिलेसम्म देखिएका इबोला लहरमध्ये सबैभन्दा घातक भएको बताएका छन्। उनले भने, “हामीले यी मानवीय पक्षहरू समाधान ग¥यौं भने मात्र इबोला, दादुरा र हैजाजस्ता रोगलाई हराउन सक्छौं।”
हालको प्रकोप ‘बन्डिबुग्यो’ प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो, जसका लागि कुनै पनि स्वीकृत खोप वा उपचार पद्धति उपलब्ध छैन। बिहीबारदेखि बन्डिबुग्यो प्रजातिको उपचारका लागि पहिलो क्लिनिकल परीक्षण सुरु गरिएको छ। यसमा एमबिपी१३४ र रेमडेसिभिर नामक औषधिको प्रयोगबारे अनुसन्धान भइरहेको छ। सीडीसीले वर्षको अन्त्यसम्ममा खोप र उपचार उपलब्ध गराउन प्रयास गरिरहेको जनाएको छ।
यता, छिमेकी राष्ट्र युगान्डामा भने पछिल्लो दुई सातायता नयाँ सङ्क्रमण देखिएको छैन। युगान्डामा हालसम्म २० जना सङ्क्रमित र दुई जनाको मृत्यु भएको छ। त्यस्तै, फ्रान्समा देखिएको इबोलाको एक आयातित केस पनि निको भइसकेको छ। यद्यपि, कङ्गोबाट हुने जनआवागमनका कारण क्षेत्रीय स्तरमा उच्च सतर्कता अपनाउनुपर्ने डब्ल्यूएचओको भनाइ छ।








