हर्मुज जलडमरूमा तनाव: अमेरिकी सैन्य कारबाहीपछि इरानको जवाफी आक्रमणको चेतावनी

वासिङ्टन/तेहरान । हर्मुज जलडमरूमा तीनवटा पानीजहाजमा आक्रमण भएको भन्दै अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेको छ। यससँगै अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल बिक्री गर्न दिइएको अनुमति पनि खारेज गरिदिएको छ। अमेरिकी कारबाहीको जवाफमा इरानले बहराइन र कुवेतलाई लक्षित गरी आक्रमण गरेको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले नागरिक चालक दल सवार व्यापारिक जहाजहरूमाथि आक्रमण गरेको बदलामा आफूले कारबाही गरेको जनाएको छ। सो आक्रमणमा इरानका वायु रक्षा प्रणाली, राडार र रिभोल्युसनरी गार्डद्वारा प्रयोग गरिने ६० भन्दा बढी साना डुङ्गाहरू ध्वस्त पारिएको अमेरिकाको दाबी छ।

इरानले अमेरिकी आक्रमणलाई ‘आतंकवादी कृत्य’ भन्दै यसको निर्णायक जवाफ दिने चेतावनी दिएको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर कालिबाफले सामाजिक सञ्जालमार्फत “धम्की र जबरजस्तीको युग समाप्त भएको” भन्दै झुक्ने नीति नलिने बताएका छन्। अमेरिकी आक्रमणलगत्तै बहराइन र कुवेतमा मिसाइल अलर्ट जारी गरिएको थियो। यी दुवै मुलुकमा क्रमशः अमेरिकी नौसेनाको पाँचौँ फ्लीट र अमेरिकी सेनाको उपस्थिति छ।

हाल इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु (२८ फेब्रुअरी) पछिको अन्त्येष्टि चलिरहेको छ। यो अवधिमा तनाव कम हुने अपेक्षा गरिए पनि जारी घटनाक्रमले मध्यपूर्वलाई थप व्यापक द्वन्द्वतर्फ धकेलेको छ। खामेनीको अन्त्येष्टि सकिएपछि आणविक कार्यक्रम र हर्मुज जलडमरूको नियन्त्रणजस्ता जटिल विषयमा वार्ता सुरु गर्ने तयारी थियो, तर पछिल्लो हमलाले सो प्रक्रिया अन्योलमा परेको छ।

अमेरिकाले अन्तर्राष्ट्रिय बजारमा डलरमा तेल बिक्री गर्न इरानलाई दिएको सुविधा खारेज गरेको छ। यसअघि इरानले प्रतिबन्धित तेल सस्तो दरमा चीनलाई बेच्दै आएको आशंका थियो। पछिल्लो समय ओमानको तट नजिकै एउटा एलएनजी ट्याङ्करमा आक्रमण भएपछि अमेरिकाले कडा कदम चालेको हो।

हर्मुज जलडमरूमा आवातजावत गर्ने जहाजहरूले आफ्नो नियन्त्रण र तोकिएको रुट मान्नुपर्ने इरानको अडान छ। सो क्षेत्रबाट विश्वको एक-पाँचौँ तेल र ग्यास आपूर्ति हुने गर्दछ। कतारले आफ्ना ट्याङ्करमाथि भएको आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै त्यसको जिम्मेवार इरान रहेको जनाएको छ। अर्कोतर्फ, अमेरिका र खाडी राष्ट्रहरूले इरानले जलमार्गमा शुल्क उठाउने वा जहाजहरूको रुट नियन्त्रण गर्ने प्रयासलाई अस्वीकार गर्दै आएका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x