भ्याङ्कुभर । स्विट्जरल्याण्ड सन् १९५४ पछि पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बीसी प्लेस स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ०-० को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४-३ ले पराजित गर्दै स्विट्जरल्याण्डले ऐतिहासिक जित निकालेको हो।
खेलअघि नै स्विट्जरल्याण्डका मुख्य खेलाडी जोहान मन्जाम्बी चोटका कारण टोलीबाट बाहिरिएपछि मुरात याकिनको टोली दबाबमा परेको थियो। कोलम्बियाली समर्थकहरूको भारी उपस्थिति रहेको मैदानमा पहिलो हाफ कोलम्बियाले नै नियन्त्रणमा राखेको थियो, जहाँ गुस्ताभो पुएर्ताको प्रहारलाई स्विस गोलकिपर ग्रेगोर कोबेलले उत्कृष्ट बचाउ गरे।
दोस्रो हाफ र अतिरिक्त समयमा पनि दुवै टोलीले केही सुनौला अवसरहरू सिर्जना गरे तर गोल गर्न सकेनन्। अतिरिक्त समयमा कोलम्बियाका डिफेन्डर जोन लुकुमीको हेडर बारमा ठोक्किएर बाहिरिँदा कोलम्बिया जितबाट वञ्चित भएको थियो।
१२० मिनेटको प्रतिस्पर्धापछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। कोलम्बियाका डाभिन्सन सेन्चेजको प्रहार बारमा ठोक्कियो भने कुचो हर्नान्डेजको प्रहारलाई गोलकिपर कोबेलले विफल पारिदिए। स्विट्जरल्याण्डका म्यानुअल अकान्जी पेनाल्टीमा चुके पनि रुबेन भार्गासले चौथो पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई ४-३ को जित दिलाए।
अब स्विट्जरल्याण्डले आगामी शनिबार हुने क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ।








