कङ्गो र युगान्डामा इबोला प्रकोप: विश्व स्वास्थ्य सङ्गठनद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गो र छिमेकी मुलुक युगान्डामा तीव्र रूपमा फैलिरहेको इबोला भाइरसको प्रकोपलाई दृष्टिगत गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ। कङ्गोको पूर्वी क्षेत्रबाट सुरु भएको यो दुर्लभ र घातक भाइरसको सङ्क्रमण हालसम्म ३०० भन्दा बढी व्यक्तिमा शङ्कास्पद रूपमा देखा परिसकेको छ भने यसका कारण ८८ जनाको मृत्यु भइसकेको छ। डब्ल्यूएचओले यो प्रकोप हाल कोरोनाभाइरस जस्तो विश्वव्यापी महामारीको स्तरमा नपुगेको स्पष्ट पारेको भए तापनि अन्तर्राष्ट्रिय स्तरमा सङ्क्रमण फैलिने जोखिम उच्च रहेको चेतावनी दिएको छ। यद्यपि, स्वास्थ्य सङ्गठनले प्रभावित देशहरूसँगका अन्तर्राष्ट्रिय सीमा भने बन्द नगर्न आह्वान गरेको छ।

प्रकोपको केन्द्र मानिएको कङ्गोको पूर्वी इतुरी प्रान्तभन्दा करिब एक हजार किलोमिटर टाढा रहेको राजधानी किन्शासामा समेत प्रयोगशाला परीक्षणबाट इबोला सङ्क्रमण पुष्टि भएपछि चिन्ता थप बढेको छ। सङ्क्रमित व्यक्ति इतुरी प्रान्तबाटै यात्रा गरेर राजधानी आइपुगेको जानकारी दिइएको छ। यसैगरी, इतुरीसँग सीमा जोडिएको र अत्यधिक जनसङ्ख्या भएको उत्तरी किभु प्रान्तमा पनि इबोलाका शङ्कास्पद बिरामीहरू फेला परेका छन् भने पूर्वी कङ्गोको मुख्य व्यापारिक तथा नागरिक केन्द्र मानिने गोमा शहरमा पनि पहिलो सङ्क्रमण पुष्टि भएको छ। स्थानीय प्रशासनका अनुसार इतुरीबाटै आएका ती सङ्क्रमित व्यक्तिलाई हाल आइसोलेसनमा राखिएको छ।

गोमा र कङ्गोको पूर्वी क्षेत्र लामो समयदेखि सशस्त्र द्वन्द्वबाट प्रभावित रहँदै आएको छ। विशेष गरी सन् २०२५ मा कङ्गो सरकार र रुवाण्डाको समर्थन रहेको ‘एम–२३’ विद्रोही समूहबीचको तीव्र सैन्य मुठभेडका कारण यस क्षेत्रबाट लाखौँ नागरिक विस्थापित भएका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धका कारण विस्थापित जनसङ्ख्या र कमजोर स्वास्थ्य पूर्वाधारका कारण भाइरस नियन्त्रणको कार्य थप चुनौतीपूर्ण बनेको छ। इबोला एक अत्यन्त सङ्क्रामक र घातक प्रकृतिको रोग हो, जुन सङ्क्रमित व्यक्तिको रगत, बान्ता, वीर्य तथा अन्य शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने गर्दछ। यसको मृत्युदर उच्च रहने भएकाले चिकित्सकहरूले यसलाई गम्भीर स्वास्थ्य संकटका रूपमा लिएका छन्।

डब्ल्यूएचओको आपत्काल घोषणासँगै अन्तर्राष्ट्रिय सहायता निकाय र दातृ राष्ट्रहरूलाई स्रोत साधन परिचालन र समन्वयका लागि दबाब बढेको छ। अफ्रिकास्थित डब्ल्यूएचओको क्षेत्रीय कार्यालयले ३५ जना विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीलाई इतुरी प्रान्तको राजधानी बुनिया पठाएको छ, जसका साथमा सात टन आपत्कालीन औषधि र आवश्यक स्वास्थ्य सामग्री समेत रहेको छ। विगतमा पनि अफ्रिकामा विभिन्न महामारी फैलिँदा डब्ल्यूएचओले स्वास्थ्य आपत्काल घोषणा गर्ने गरेको भए तापनि प्रभावित देशहरूमा समयमै खोप, परीक्षण कीट र औषधि पुर्‍याउन नसकेको भन्दै विगतमा विश्व स्वास्थ्य सङ्गठनको आलोचना समेत हुने गरेको थियो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x